Kaanchi Multimedia

Weddings • Albums • Modeling • Birthdays

आज मातातीर्थ औंसी। किन र कसरी मनाइन्छ मातातीर्थ औंसी?


न्युज डेस्क, ११ मई,२०२१:

   "जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी
   कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति"


संसारको सबैभन्दा पवित्र नाता, संसारको सबैभन्दा पवित्र सम्बोधन, सर्वप्रथम बोल्न सिकेको शब्द, अनि पल पलमा सम्झना आउने र सुख दु:खमा झझल्को आउने एउटा अनुहार- "आमा" ! आज यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंसी। वैशाख कृष्ण पक्षको औंशीको दिन मनाइने यस विशेष दिनलाई मातृऔंसी अथवा मातृ दिवस पनि भन्ने गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो। आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ।

               मातातीर्थ औंसीको दिन बिहान सबेरै उठेर स्नान गरी आमालाई उपहार प्रदान गर्ने, मिष्ठान्न भोजन खुवाई आमाको मुख हेर्ने र आशिर्वाद लिने चलन छ। आज आमाबाट टाढा रहेका सन्तानहरु आमालाई भेट्न पुग्छन्। आमालाई मीठा खानेकुरा खुवाउँछन्। विवाह गरेर पतिका घर गएका चेली-बेटीहरु मिठा परिकारहरु सहित आमाघर अर्थात माइत पुग्दछन्। विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरुले भने अचेल सञ्चार साधनहरु मार्फत पनि सम्झने गर्दछन्। मानिसहरुले सामाजिक सञ्जालहरुका माध्यमबाट पनि आमा प्रतिका भावना सम्झनाहरु व्यक्त गरेको देख्न पाइन्छ। 

             जन्मदिने आमाप्रति भक्ति, सम्मान र आरद व्यक्त गर्दै पौराणीक कालदेखिनै नेपाली भाषी गोर्खाहरुले मनाउँदै आएका एउटा पर्व हो- मातातीर्थ औंसी। विश्वको विभिन्न मुलुकको साथै असम लगायत पूर्वोत्तर भारतका नेपाली भाषी गोर्खाहरुले पनि मातातीर्थ औंसीको दिन विशेष रूपले मनाउँदै आएको देख्न पाइन्छ।

            आमाको मुख हेर्ने दिन आमाले गरेका महान र कष्टपूर्ण कामहरुको सम्झना गरिन्छ। आमा नभएकाहरूले पनि आमाको आत्माको मुक्तिको कामना गर्दै आज श्राद्धतर्पण गरी मातृत्वको स्मरण गर्दछन्।

               यिनै आमा ! जस्ले हामीलाई संसार देखाईन, गर्भमा राखेर जन्माइन् अनि काखमा राखेर हुर्काइन, ममता कि खानी अनि वालापनामा हाम्रा हरेक ईच्छा, आकांक्षा अनि चाहना पुरा गरिदिने, कल्पवृक्ष सरि, सम्पूर्ण आमाहरुलाई कोटी कोटी नमन।

साभार: सुयोग ढकाल।



Post a Comment

Previous Post Next Post